दुई महिना अगाडी नै कतारमा नयाँ कानून लागु हुने अपेक्षा, कामदारलाई के के कुरामा हुँदैछ सहज ?

दोहा- कतारमा आप्रवासी कामदारका लागि मुलुक छोड्न आवश्यक पर्ने एक्जीट पर्मिटको व्यवस्था खारेज सम्वन्धि कानून लागु गर्र्न आवश्यक पर्ने नियमावली चाँडै बन्ने अपेक्षा गरिएको छ । कतार सरकारले गतबर्ष नयाँ कानून जारी गर्दै सो कानून आगामी डिसेम्वर देखि लागु हुने जनाएको छ सन् २०१५ डिसेम्वर १३ मा नयाँ कानून राजपत्रमा प्रकाशित भएको हुँदा कतारमा त्यसको एकबर्ष पश्चात लागु हुने व्यवस्था छ । 
तर नयाँ कानून आगामी अक्टोवर देखि नै लागु हुने जनाइएको छ । नयाँ नियमावली तयार भएपछि डिसेम्वरदेखि लागु हुने भनिएको कानून त्यसभन्दा अगाडी देखि नै लागु हुने स्थानीय सञ्चारमाध्यमहरुले अपेक्षा गरेका छन् । नयाँ कानूनका बारेमा जानकारी दिन कतारमा स्थानिय सञ्चारमाध्यम र सामाजिक सञ्जाल मार्फत अभियान नै सुरु गरिएको छ । नयाँ कानूनले स्पोन्सरसीप सम्वन्धि हालको कानूनी प्रावधानलाई हटाउने छ र सो करार प्रणालीमा रुपान्तरण हुनेछ । यसले कामदारले कतार छोड्नु अगाडी हाल रोजगारदाताले दिनुपर्ने एक्जिट पर्मिटको व्यवस्था खारेज हुने र यसले कामदारलाई केहि सहज हुने अपेक्षा छ । 
नयाँ कानून लागु भएपछि कतार आउनु अगाडी नै स्वदेशमा नै कामदारले रोजगार करार गर्नेछन् भनें कतारमा कार्यरतले नयाँ करार गर्नेछन् । करारपत्र दुई बर्षको र पाँच बर्षको गरी दुई खालको हुने जनाइएको छ । एक्जीट पर्मिट खारेज भएपछि कामदारले आफ्नो रोजगारदातालाई आफूले मुलुक छोड्न लागेको जानकारी गराए मात्र पनि पुग्ने कतारका सञ्चार माध्यमले लेखेका छन् । 
साथै कतार छोडेपछि कतिपय अवस्थामा पुनः कतारमा काम गर्न आउन हाल लाग्दै आएको दुईबर्षे प्रतिवन्ध पनि नयाँ कानून लागु भएसँगै खारेज हुनेछ । नयाँ कानून लागु भएपछि कतारबाट फर्केको दुईदेखि तीन दिनभित्रै  कुनै पनि व्यक्ति पुनः कतार आउन सक्ने कानूनमा समेटिएको छ ।