काठमाडौं । जेठ २ । पहिचानलाई गुन्द्रुकसँग तुलना गर्ने वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली जनताले गुन्द्रुक बनाउने संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोककुमार राईले बताए । जेठ २ गतेको संघीय गठबन्धनको सिंहदरबार घेराउ कार्यक्रमको समापन कोणसभालाई सम्बोधन गर्ने क्रममा सो कुरा बताएका हुन् ।
पहिचान गुन्द्रुक भन्दा पनि काम नलाग्ने विषय भएको कटाक्ष गर्दै आएका प्रधानमन्त्री ओलीलाई वरिष्ठ नेता राईले प्रतिप्रश्न गर्दै भने, ‘पहिचान र गुन्द्रकको भेद छुट्याउन नसक्ने प्रधानमन्त्रीले देशको समस्या कसरी पहिचान गर्न सक्छन्? र कसरी समाधानको बाटो अबलम्बन गर्छन् भनेर अपेक्षा गर्ने?’
पहिचान र अधिकारका लागि मधेसी, आदिवासी जनजाति, मुस्लिम, खस, शिल्पी (दलित), महिला, उत्पीडित क्षेत्रका जनता सयौं वर्ष लड्न मानसिक रुपले तयार भएको राईले बताए, ‘आन्दोलनकारीको माग पुरा नहुन्जेल आन्दोलन जारी रहने र आजको उपस्थितीको ११ औं गुणाको संख्यामा भोलि जेठ ३ गतेको सिंहदरबार घेर्न जनता सहभागी हुने छन् ।’
त्यसैगरी, ऐतिहासिक एकीकृत मगरात भूमि एकै ठाउँमा नहुन्जेल आन्दोलनबाट पछि नहट्ने मगर संघका अध्यक्ष तथा मगरात संघर्ष मञ्चका नेता नविन रोका मगरले भने, ‘मगरात भूमिलाई यो नश्लीय राज्यसत्ताले टुक्रा–टुक्रा पारेकोले यो नसच्याइएसम्म मगरात जनता अधिकार र पहिचानविहिन संविधान मान्न तयार नहुने स्पष्ट छ । यो संविधान संशोधन मात्र होइन पुनर्लेखन नै गर्नुपर्छ । मगरातका जनताले धरै तानाशाहहरु ढालेका छौं । अधिकार र पहिचानको आन्दोलनलाई पनि कसैले रोक्न सक्दैन ।’
त्यसैगरी, दोस्रो संविधानसभाबाट जबर्जस्ती रुपमा जारी गरिएको नेपालको संविधान पश्चगामी र विभेदपूर्ण भएको समाजवादी फोरमका केन्द्रीय सदस्य लिला सिटौलाले दाबी गरेकी छन् । मधेसी, आदिवासी जनजाति, दलित, मुस्लिम, महिला, उत्पीडित क्षेत्रका जनतालाई यो संविधानले अधिकार र पहिचान नदिएको सिटौलाले सिंहदरबार घेराउ कार्यक्रमको कोण सभालाई सम्बोधन गर्ने क्रममा भनिन्, म बाहुनकी छोरी भए पनि संविधान पश्चगामी र विभेदपूर्ण रहेको छ भन्छु । यही नै सत्य हो । सत्य कुरा भन्न मलाई कुनै हिच्किचावट छैन । यसमा सत्तारुढ दलका बाहुनवादी नेताहरुले जति नै उत्कृष्ट भने पनि त्यो झूटो कुरा हो ।’ न्याय र समानता लागि भएको आन्दोलनबारे नेपाली जनता भ्रममा नपर्न समेत उनले आग्रह गरिन् ।
त्यसैगरी, समाजवदी फोरमका केन्द्री सदस्य तथा नेवाः देय् दवुका अध्यक्ष नरेश ताम्राकारले नेवाः भूमिमा उठेको आन्दोलनलाई नेवारहरुले खुलेर सहयोग गर्ने कुरामा ढुक्क हुन आश्वस्त पार्दै पहिचान र अधिकारका लागि नेवारहरु जुनसुकै लडाइँ लड्न तयार छन् ।
त्यसैगरी, समाजवादी फोरमका व्यवस्थापिका–सांसद तथा पूर्व राज्य मन्त्री करिमा बेगमले मुस्लिम र मधेसीलाई फुटाउन ओली सरकारका भरौटेहरु लागिपरेको बताइन्, ‘अधिकार र पहिचान सुनिश्चित नभएसम्म सबै उत्पीडित जाति समुदाय एकजुट हुनुपर्छ ।’
संघीय गठबन्धनले गत जेठ १ गते १० हजार भन्दा बढी जनताको सहभागितामा शान्तिपूर्ण र्याली उपत्यकामा आयोजना गरेको थियो भने भोलि जेठ ३ गते विहान ९ बजेदेखि सिंहदरबार घेराउ आन्दोलन जारी रहने गठबन्धनले जनाएको छ ।
चालु आन्दोलनको समिक्षा र आगामी कार्यक्रमबारे छलफल गर्ने गरी संघीय गठबन्धनको बैठक जेठ २ गते साँझ ५ः०० बजेदेखि समाजवादी फोरमको केन्द्रीय कार्यालय, तिनकुने, काठमाडौंमा बसिरहेको बताइएको छ । बैठकमा गठबन्धनका शिर्ष नेताहरु उपस्थित रहेको समेत बताइएको छ ।
