दिया चन्द । काठमाडौं, १ जेठ
मधेशवादी दलहरुसहितको ३० दलीय संघीय गठबन्धनले आइतबारदेखि गर्न लागेको सिंहदरवार घेराउ तथा प्रदर्शन कार्यक्रमको पूर्व सन्ध्यामा राजधानी छिर्ने प्रमुख नाका थानकोटमा बर्दीसहितका भारतीय प्रहरी पक्राउ परेका छन् । शनिवार आफ्नै निजी गाडी लिएर राजधानी छिर्दै गरेका भारतीय प्रहरीलाई थानकोट प्रहरीले गिरफ्तार गरेको हो । थानकोट प्रहरीले वर्दी सहितका दुई जना भारतीय प्रहरीलाई पक्राउ गरेको हो ।
तर, समातिएका ती भारतीय प्रहरीलाई माथिको दवावमा तत्कालै छाडिएको छ । माथिको दवाव आएपछि उनीहरुलाई पोसाक नलगाइकन डुल्न अनुमति दिँदै छाडिएको महानगरीय प्रहरी कार्यालयको एक अधिकृतले जानकारी दिएका छन् । यसबारेमा प्रहरीका माथिल्ला अधिकारीहरुले भने कुनै प्रतिक्रिया दिन मानेका छैनन ।
स्रोतका अनुसार केहीदिन अघिदेखि नै राजधानी काठमाडौंमा ठूलो संख्यामा भारतीय सेना र प्रहरीहरु सादा पोशाकमा प्रवेश गरेका छन् । उनीहरुलाई राजधानीका विभिन्न ठाउँमा परिचालन गरिएको स्रोतको दावी छ । ३० दलीय संघीय गठबन्धनले २ गतेदेखि अनिश्चितकालका लागि गर्ने भनेको सिंहदरवार घेराउ तथा प्रदर्शन कार्यक्रमकै अगाडि भारतीय सुरक्षाकर्मीहरु राजधानी किन भित्रिए भन्ने प्रश्न उठेको छ ।
त्यसैैगरी केही दिन यता भारतीय सुरक्षाकर्मीहरुले तराईका विभिन्न जिल्लामा समेत खुलेआम बर्दीसहित घुमिरहेको खबर आएको छ ।
अत्याधुनिक हतियार एके-४७ सहित भारतीय प्रहरी समातिए
यसअघि वैशाख १२ गते मात्र सुदुरपश्चिमको पहाडी जिल्ला डोटीबाट पाँच जना भारतीय प्रहरीलाई हतियारसहित पक्राउ परेका थिए । कञ्चनपुर, कैलाली डडेल्धुरा हुँदै भारतीय प्रहरी निरिक्षकसहितको टोली कसरी सुदुरपश्चिमको पहाडमा पुग्यो भन्ने प्रश्न उठेको थियो ।
उनीहरु कञ्चनपुरको गड्डाचौकी नाका भएर डोटी पुगेका थिए । डोटी प्रहरीले उनीहरुलाई टोटी र अछामको सीमा क्षेत्र सानागाउँ, चौखुट्टेबाट पक्राउ गरेको थियो । उनीहरुसँग डोटी प्रहरीले एक थान एके ४७ राइफल त्यसमा लाग्ने गोली २५ थान र पेस्तोल तथा गोली १२ थान समेत फेला पारेको थियो ।
कानुनतः दुबै देशका प्रहरी एक अर्काको देशमा प्रवेश गर्दा बोकेको हतियार आफ्नै देशको सीमा प्रहरी चौकीमा बुझाएर जाने नियम रहेको छ। तर, सोको उलंघन गर्दै भारतीय सुरक्षाकर्मी पटक पटक नेपाली भूमीमा हातहतियार र पोशाकसहित फेला पर्ने गरेका छन् । नेपालको सीमा क्षेत्र र तराईको भूमिमा उनीहरु झन निर्वाध घुम्ने गरेका छन् । यसअघि कार्तिकमा विरगञ्जमा एमपी ओ ३ ए १९१५ नम्बरको गाडीमा सवार ठूलो संख्यामा भारतीय सुरक्षाकर्मी एके ४७ राइफल र ठूलो मात्रामा गोलीसहित भेटिएका थिए । भारतले नेपालमाथि लगाएको नाकाबन्दीकै बेला पनि विरगञ्जमा चार वटा गाडीमा आएका भारतीय सुरक्षाकर्मी नेपाली भूमिमा फेला परेका थिए ।
भारतीय पक्षले नियमकानुनको उलंघन गर्दै विभिन्न सीमानाका भएर नेपाल प्रवेश गर्ने गरेको भएपनि नेपाली पक्षले उचित कदम चाल्न सकेको छैन ।
