संघीय गठबन्धनले भोलि बालुवाटार घेराऊ गर्ने, प्रधानमन्त्रीलाई भित्रै थुन्ने

काठमाडौं, ३ जेठ । राजधानी केन्द्रीत आन्दोलन गरिरहेको मधेसी मोर्चा सम्मिलित संघीय गठबन्धनले चौथो दिन मंगलबार (भोली) प्रधानमन्त्री निवास बालुवाटार घेर्ने भएको छ ।

जेठ १ देखि राजधानीमा आन्दोलन सुरु गरेको गठबन्धनले आइतबार र सोमबार देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार घेराऊ गरेको छ । सिंहदरबार घेराऊ आन्दोलनको निकै प्रभाव परेको छ ।

सिंहदरबार घेराऊ कार्यक्रम सफल भएपछि थप दबाब दिन गठबन्धनले मंगलबार बालुवाटार घेराऊ गर्ने निर्णय गरेको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरासियाले जानकारी दिए । ‘सिंहदरबारपछि अब बालुवाटारलाई निशाना बनाउने निष्कर्षमा गठबन्धन पुगेको छ । अबको आन्दोलनले शासकलाई झुकाएरै छाड्ने योजना छ’ उनले भने ।

उनका अनुसार सिंहदरबार घेराऊ गर्ने कार्यक्रम अन्तर्गत माइतीघर मण्डला र हनुमान स्थानमा कब्जा गरी दुई दिनदेखि धर्ना प्रदर्शन गर्दै आएको गठबन्धनले मंगलबार बिहान १० बजेदेखि प्रधानमन्त्री निवास वालुवाटार घेर्ने भएको हो ।

आन्दोलनको स्वरुप र स्थान परिवर्तन गर्दै गठबन्धनले सिंहदरबारपछि वालुवाटार घेर्न लागेको गठबन्धनले जनाएको छ । गठबन्धनमा आबद्ध २९ दलका सबै नेता कार्यकर्ताहरुले मंगलबार वालुवाटार तयारीमा जुटेका छन् ।

माग सम्बोधन गराउन प्रधानमन्त्री केपी ओलीमाथि प्रत्यक्ष र प्रभावकारी दबाव दिन प्रधानमन्त्री निवास वालुवाटार घेराऊ गर्न लागिएको गठबन्धनले जनाएको छ ।

प्रधानमन्त्रीलाई भित्रै थुन्ने

यसैबीच बालुवाटार घेराऊको निर्णय गरेको गठबन्धनले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भित्रै थुन्ने घोषणा गरेको छ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवका प्रेस संयोजक चौरासियाले भने- ‘बालुवाटार घेरेर प्रधानमन्त्रीलाई भित्रै थुन्ने वा विहानै निस्किहाले भित्र छिर्न रणनीति गठबन्धनले अख्तियार गर्नेछ । यसबारे थप योजना बनिरहेको छ ।’