माइतीघरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, ३ आन्दोलनकारी घाइते -

३ जेठ, काठमाडौं । संघीय गठवन्धनले गरेको सिंहदरबार धर्नाका क्रममा माइतीघर मण्डलामा प्रहरी र प्रदर्शनकारीबीच सामान्य झडप भएको छ । आन्दोलनकारीले प्रहरी घेरा तोडेर अघि बढ्न खोज्दा झडप भएको हो ।

झडपका क्रममा आन्दोलनकारीतर्फ तीन जनालाई चोट लागेको त्यहाँ रहेका अनलाइनखबरकर्मी श्रीधर पौडेलले जानकारी दिएका छन् । घाइते भएकोमा अमर धिमाल, सोनाम राई र सन्तोष नाम गरेका व्यक्ति छन् ।

अहिले प्रहरीले स्थिति नियन्त्रणमा लिइसकेको छ । माइतिघरमा करिब पाँच सयको संख्यामा आन्दोलनकारी उपस्थित छन् भने त्योभन्दा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएका छन् । यतिबेला आन्दोलनकारीहरु नाराबाजी गरिरहेका छन् ।

गठवन्धनले शान्तिपूर्ण आन्दोलनमा प्रहरीबाट हस्तक्षेप भएको  भन्दै विरोध गरेको छ ।